बिहानिको मधुर उज्यालोमा
मर्स्यङ्गदिको कलकल बहाब संगै
गैरी खेतको हरिया आलि
छङ्गछङ्ग गरेर झर्दै गरेको समहाका
सेता निला पानीको प्रवाह संगै
तिमी संग मेरो पहिलो भेट भएको थियो
र, तिमिलाइ जिस्काउदै भनेको थिए
आज कसै संग भेट हुन पनि
ब्याकरण हरु मिल्नु नपर्ने रहेछ !
कर्तव्य र जिम्मेवारी को
आकास जस्तो भारी पिठ्युँमा कसेर
सायद त्यो दिन म पर्देशिदै थिए
अनेकौ रहर र बाध्याता हरु बोकेर
भोलि उदाउने बिहानी संगै
मेरो सुखको बिहानी उदाउने आसमा
जीवन भन्दा पनि लामा दुख बिर्सिएर
गोरखपुरको रेलको अन्तिम डिब्बामा बसेर
यात्रा नापिरहेका थियौ दुबै
छक छक छक छक छक
रेलको अट्टहास लाग्दो
बिरक्तिलो आवाज संगै
नभनेरै हृदयले सुनेका
शुरु गरेका थियौँ एउटा प्रेम कहानी
गोरखपुर बाट छुटेको रेलको डिब्बा
कटिहार र गंगा जमुना ब्रंहापुत्र हुँदै
लिक हरुको लम्बाइ नापेर
बम्बै रवना भएको
रेलको झ्यालमा बसेर
तिनै झ्यालको सिसामा अनुहार देखाउदै
तिमिले भनेको थियौ,
महाराज !
हेरत, कति हसिलोछ तिम्रो अनुहार
मैले तिम्रो आखालाई जवाफ दिएको थिए
सायद !
तिम्रो आखाको रानी भित्र
पहिलोपटक प्रेमको स्पर्श गरेको थिए !
समिरको चिसो झोकाले हिर्काएर
तिम्रो केशरासी हरुले
मेरो अनुहारमा काउकुती लगाउन आइपुग्थे
म मदहोसी पिए झै भुतुक्क हुन्थे
तिमी लजाएर झनै पानीपानी हुन्थ्यौ
मानौ भर्खरै लालुपाते फक्रीएकोछ,
र, तिम्रो कोमल चेहेरामा बैँस फुलेको देख्थे
मानौ माथी आकाशमा पुर्णिामा को दिन
जुन बैशालु भएर लजाएको छ,
एउटा कथा बोकेर एक तमासले
सापना खोज्दै क्षितिज नियालेर
तिम्रो गालामा टप्लक्क मेरो आँसु झर्दा
पुलुक्क मलाइ नियालेर चस्मा झिक्दै
मलाइ आफ्नो अंगालोमा कसेर
सुटुक्क भनेको थियौ
"पारिजात,, परदेश नजाउन है ?
तर मलाइ हतार थियो जिन्दगी संग
मलाइ हतार थियो धेरै पैसा कमाउनु सँग
तैपनि हतार छ भन्नै सकिन तिमी संग
किनकी !
हतार छ मलाइ भन्नू,
तिमि सँग टाढिनु जतिकै थियो
तिमी संग टाढिनु भनेको
म आफ्नै शरीर संग श्वास छुटाउनु जस्तै थियो
र, चुपचाप हिडिरहे तिमी संगै
पुर्ब बाट पश्चिम दौडिरहेको घाम जस्तै
दिन महिना बर्ष बितेछ आज त्यो पल
जतिबेला तिमिले पर्देश नजाउ भन्दै
अंगालोमा बेरेर मेरो आँसु पुछेको थियौ
तर, आज बिहानै खबर सुने
तिमिले सिउदोको सिन्दुर भुल्यौरे
ममताको छाती भुल्यौरे
म संगैको त्यो जिन्दगी को यात्रा भुल्यौरे
र, मन चिसो भो
मन र तन तताउने भनेका यादहरुका टुक्रा रहेछन
तिमी संगको यादहरुमै आँखा ओसिलो पारे
धुजाधुजा भएको सपनाहरु
सम्झनामा तिमी संगको पहिलो यात्रा
मैले आज बाट बिट मारे
अनि सोचे-
जिन्दगी को जोडघटाउमा
मान्छेले पनि क्रय बिक्रय हुनुपर्ने रहेछ
भोगाइका क्याल्कुलेटर हरु पनि रोकिनुपर्ने रहेछ
र आज त्यो गोरखपुरको रेल रोकिए पनि
तिमी संगको याद हरु रोकिने छैनन निस्ठुरी
अनि मन गाठो पारेर दरो बाँधे
यदि कुनै गजलको रदिफ र काफिया जस्तो
कुनै कथाको अनुच्छेद जस्तो
कुनै कविताको हरफ जस्तो
कुनै गितको अन्तरा जस्तो
कुनै संगितको सरगम जस्तो
नमिलेका अलिअली काटेर मिलाए जस्तै
नमिल्ने रहेछ मान्छेको जिन्दगी
जस्तो चाहयो अक्षर हरु फेर्न सकियोस
शब्द र भाव हरु बदल्न सकियोस
नमिलेका हर्स्व दीर्घ बनाउन सकियोस
तिमिले अन्तिम पटक लेखेको पत्र हरु
आज पनि पल्टाउदै पड्दैछु
तिमिले लेखेका छौ
मर्स्याङ्दी पहिले झै संग्लो बग्दैन
गैरिखेतको समहा हरु पहिले झै झर्दैनन
तिमिले टालेर गएको खेतको आलि हरु
फुटेर झर्न मात्रै बाकी छ,
तिमी र मैले बगाएको त्यो कागजको डुङ्गा
कहाँ बिलायो अब कहिले भेटिने छैन
त्यसैले महाराज !
मनको मर्स्याङ्दिमा बाढी आएपछि
यस्पाली तन्को मझेरिमा धान रोपिएन
हामी संगैको तस्बिर धुमिल भैसक्यो
आदि, इत्यादी
हो रहेछ, प्यारो राजा
आज तिम्रो पत्रको भावहरु बल्ल बुझ्दैछु
न रहयो बाचा कसम
न रहयो त्यो खेत
त्यो नदि नाला
र रहेन अब म संग केही
यादहरु संगै
यो पत्र लेख्ने मान्छे पनि
रचना-अर्पण योन्जन (शिरिष)
मिति- ७, श्रावण २०७८
इस्बि- २२, जुलाई २०२१
No comments:
Post a Comment