निश्पाप
अनि !
निश्कलंक
यो अनुहारमा
आमा !
तिमी संग
संघर्षको धरातलमा
जिबनका भोगाइहरुको
चाङ्ग हरु होलान
तर पनि
तिम्रो यो हसिलो मुहारले
म भित्र
प्रेम र उर्जा
दुबै एकैसाथ भरेकोछ ।
र, त, आजभोली म !
तिम्रो ममताको
प्रेममा परेकोछु





आज प्रत्येक आफ्नै पाइलामा
तिम्रो पाइला हरु भेट्दैछु
मैले उठाउने हरेक कर्म हरुमा
तिम्रो हत्केला हरु भेट्दैछु
भोकाएको यो पल
तिम्रो पटुकिको मकै हरु भेट्दैछु
पशिनाले नुहाएर निथ्रुक्क हुदा
बाबू ! त ! थाकिस भनेको
प्रेमिल स्नेह हरु भेट्दैछु
मरुभुमिको यो रापमा
प्यासले रन्थनिएर ढल्न लाग्दा
पिएको यो मिनरल पानीहरुमा
तिम्रो हातले पिलाएको
एक अम्खोरा मोहिको
झल्को भेट्दैछु,
र, त, आजभोली म !
तिम्रो ममताको
प्रेममा परेकोछु





हिजो मैले तिमिलाइ
आमा सब्दमा मात्रै चिनेको
आज देवता भनेर चिन्दैछु
तिम्रो चाउरी परेको गाला
खुम्चिएको निधारमा
पहेलै भैसकेको दातहरुमा
हिमाल झै सेता कपाल हरुमा
साच्चै सुन्दर युवती देख्दैछु
आमा ! सुन्दर युवती !!!
र, त आजभोलि म
तिम्रो ममताको
प्रेममा परेकोछु





आजभोली
म, बल्ल बुझ्दैछु
तिमी र तिम्रो अर्थ
मलाइ जन्माउदा,
हुर्काउदा,
बिग्रीएको तिम्रो शरीर
म फर्काउन सक्दिन
मेरो भबिस्य खोज्दा
कलेटी परेका हातको पंजाहरु
चिराचिरा परेर फुटेको पैतलाहरु
आज मेरो अस्तित्व को
म उभिएको जग रहेछ आमा
र,त आजभोली म
तिम्रो ममताको
प्रेममा परेकोछु





तिम्रो छाती चिरिएर
टुक्राटुक्रा हुन्छ भनेर
नसुनाएको
आजको मेरो कथा हरु
नढाटी भन्छु आमा,
मुटु गाठो पारेर सुन्नु है,
जुन जस्तो शितल
तिम्रो छातिमा निदाउनु जस्तो
कर्तब्यको निन्द्रा नहुने रहेछ आमा
तिम्रो काख जस्तो
पैसाको शिरानी नहुने रैछ आमा
तिम्रो काख छोडेर पर्देशिएपछी
सबैको अर्गेलो भएकोछु आमा
जुन जस्तै शितल तिम्रो छहारिमा
तिम्रो ममताको शिरानी लगाइ
तिम्रो च्यातिएको धोतिमा
शिर राखेर सुस्ताउनु जस्तो
मखमलको बिछ्यौना नहुने रहेछ आमा
मेरो रिस र घुर्काइ पनि
प्यारो लाग्ने तिमिलाई
पराइ लाई
मेरो आत्मियता पनि
काडा झै लाग्छ,आमा
तिमिले गाली गरेको पनि
प्रेम लाग्ने
पराइको प्रेम पनि
घृणा द्वेष भरिएको हुने रहेछ आमा
र,त आजभोली म
तिम्रो ममताको
प्रेममा परेकोछु 





रचना- अर्पण योन्जन (शिरिष)
मिति- ६, श्रावण २०७८
इस्बि- २१, जुलाई २०२१
No comments:
Post a Comment