कविता- छोरी तिमी रजस्वला भएको रात
छोरी तिमी रजस्वला भएको रात
म प्रसब बेदनाले छट्पटिएर
फिटिक्क निदाएको छुइन
किनकी मलाई डर लागेको छ
कतै म तिम्रो अस्तित्व नमेटुँ
हो मलाई त्यो ईतिहास याद आउछ
१९८० अर्थात,
२४, जेष्ठ २०३८ को रात
एउटा दुखान्त रात
४१, बर्ष अघीको त्यो रात
आज सम्म गुमनाम भएको
निरा पराजुली हराएको रात
अनी बलत्कार गरी हत्या भएको
नमिता सुनिताको अन्त्यको रात
म कतै नरभक्षी नबनुँ
छोरी ! तिमी रजस्वला भएको रात
साच्चै कालो इतिहाँस बनेको त्यो रात
अनी २०१८ अर्थात !
२०७५ साउन १० को
युगौ पछीको यो रात
कहाली लाग्दो अर्को मिती थपिएकोछ
छोरी तिमी यता
रजस्वला भएकै रात
उता तिमी जस्तै अनी तिमी जत्रै
निर्मला बलत्कार भएको रात
रातभर छट्पटिएर रुएको
निर्मलाको आशुको
झरी बनेर खसेको त्यो रात
आमाको काख रित्तिएको रात
बाउको ममता च्यातिएर
छहारी ढलेको त्यो रात
म पुरुष हुनुमा छट्पटि रहेकोछु
आत्माग्लानिले पिल्सिएर
ज्वालामुखिको बिस्फोट झै
ग्लेसियर भएर पग्लदैछु
म समुन्द्रमा
बाफ बनेर उड्ने कोशीशमा छु
कतै म !
त्यो भोकाएको सिंह नबनुँ
छोरी तिमी रजस्वला भएको रात
यहाँ पुरुष सँङ्ग गासिएका
हरेक नाता संग डर लाग्न थालेकोछ
बाउको कर्तब्य संग डर लाग्छ,
काकाको जिम्मेवारी संग डर लाग्छ
मामाको ममता संग डर लाग्छ
दाइको स्नेह र भाईको प्रेम संग डर लाग्छ
साथीको मित्रता संग डर लाग्छ
अनी ! छिमेकिको आँगन सँग डर लाग्छ
हो आज मलाई आफ्नै छाया संग डर लाग्छ
कतै म त्यो राक्षश नबनुँ
छोरी तिमी रजस्वला भएको रात ।
आखिर कहिले सम्म
नमिता, सुनिता, निर्मला
भागीरथी र सबिताहरु
बलत्कार हुन्छन र मारिन्छन
ति कलीला अबोधहरु
फुल बनेर फक्रीन नपाउदै
निमोठिन्छन र ओईलाउछन
झरी पछीको असिनाले चुटेझै
त्यसैले छोरी
म आज
आफ्नै पुरुष्वत्व संग भागदैछु
किनकी,
म आफ्नो दुसित बिर्य संग डराउदैछु
कतै म त्यो चेतनहिन पशु नबनुँ
छोरी तिमी रजस्वला भएको रात
रचना- अर्पण योन्जन(शिरिष)
मिती- १, अशाढ २०७८
तदनुसार- १५, जुन २०२१
No comments:
Post a Comment