म तलाउ हैन,
तिमी ढुंगा हानेर
मेरो मौनता लाई तोड्न ।
म तिम्रो प्यासको तिर्खा मेटाउने पानी हैन
जो तिमी पिउन चाहान्छौ
सुकाउन चाहान्छौ
रित्याउन चहान्छौ ।
म डुंगा हैन तिम्रो यौबनको सयर गर्न
किनकी मलाई तलाउ झै शान्त हुन आउदैन
अनि म खहरे झै गड्गडाउन सक्छु
तिम्रो अश्लिल्तामा
तिम्रो यौबनको हवसमा बिद्रोह गर्न सक्छु
किनकी शान्त रहनलाई
म तलाउ हैन ।
हो म पानी जस्तै हुँ
पुर्ण हुँदा चुपचाप रहन्छु
आधा हुँधा छछल्किन्छु
तर तिमिले सोचे जस्तै
म उतौली हैन
किनकी
छछल्किनु पानीको धर्म हो
त्यसैले तिमि मलाई
प्यालाभरी पिउन सक्दैनौ
उन्मादमा तिमी प्यासी
अनि म प्यासा बन्न सक्दिन
पिपासु तिम्रो आवेगको
गिलासको पानी बन्न सक्दिन
किनकी
म घैलाको पानी हैन ।
म मान्छे हुँ तिमी जस्तै
न, कि म धर्ती हैन,
तिमिले चाहे जस्तै
चिराचिरा पारेर जोत्नलाई
तिमिले चाहे जस्तै
म आफ्नो छातिमा
गगन चुम्बी महल ठड्याउनु सक्दिन
तिमिले सपना देखेको शहर जस्तै
म कंकृट भएर उभिन सक्दिन
किनकी
म माटो हैन ।
म आकाश हैन,
तिमिले सोचें जस्तै
सदियौ सम्म झुकी रहनलाई
जस्लाइ तिमी थुक्छौ
दुत्कार्न खोज्छौ
तर म त्यो आकाश हुँ
तिमिले थुकेको थुकको बाछिटा बनेर
तिम्रो अनुहारमा खस्न सक्छु
र, तिमिलाइ बिटुलो बनाउँन सक्छु
त्यसैले चुपचाप झुकिरहने
म आकाश हैन ।
म हिमाल हैन
मलाई किला काँटी ठोक्दै
मेरो अंग प्रत्यंगमा
तिमी आफू आरोहण गर्न
म हिउँ हैन पग्लिएर
तिम्रो बेहोसिको रापले पग्ली बग्नलाई
तर म त्यो हिउँ हुँ
म त्यो हिमाल हुँ
जो सँधै शिर झै उभिरहन्छ
अटल रहिरहन्छ
त्यसैले म पग्ली बिलाउने
म त्यो हिमाल हैन ।
म पहाड हैन
जहाँ म सम्म आइपुग्नलाइ
मेरो छाती र बक्ष्यस्तल हरुमा
गैती, बेल्चा र मेसिनहरु चलाउ
तोड, फोड, भत्काउ
र यौबनको बाटो बनाउ
मलाई बिरुप र कुरुप पहाड जस्तै
मेरो स्वरुप बिगार्नलाई
तर म तिमिले सोचे जस्तै पहाड हैन
म पहारा झैं चट्टान भएर अडिक रहन सक्छु
ज्वाला मुखी झैं बिस्मोट हुनसक्छु
तिम्रो अभिमान लाई ध्वस्त बनाउन सक्छु
र मेरो कौमार्यताको रक्षाको लागि
लाटो पहाड भएर हैन
सिपाही झै भएर उभिन सक्छु
त्यसैले तिमिले सोचे जस्तो
म पहाड हैन ।
तिमिलाइ खुब जाँगर आउँछ हैन ?
बसको यात्रामा हातको औला छुन
भिडभाड र कोलाहल मा
कुहिनाले मेरो पेट, कम्मर,
नितम्ब र स्तन स्पर्श गर्न ?
तर अब होसियार !
आफुलाइ सम्हाल
तिम्रो कुविचार हरुको
तिम्रो यौबन, तिम्रो आँट
तिम्रो साहस, तिम्रो कुदृश्टी
काबुमा राख
र असल पुरुष बनाउ
नत्र म
बिस्फोट हुनसक्छु
बारुद बनेर पड्कन सक्छु
आगो बनेर जलाउन सक्छु
आँधी बनेर ढलाउन सक्छु
स्पातका ताता लावा बन्न सक्छु
र बिद्रोह गर्न सक्छु
र तिमिले सोचेको जस्तो म हैन ।
त्यसैले तिमिले सोचेको
सान्त तलाउँ हुन सक्दिन
पग्लने हिउँ बन्न सक्दिन
पिउने पानी हुन सक्दिन
लाटो पहाड हुन सक्दिन
निरीह माटो हुन सक्दिन
र, यी सबै कदापी हुन सक्दिन
जो तिम्रो ब्यभिचार
निशब्द सहि रहुँ
किनकी
तिम्रो अन्याय सहने
म सान्त तलाउ हैन ।
रचना- अर्पण योञ्जन "शिरीष"
२५, असौज २०७९
No comments:
Post a Comment