एउटै नदि दुइ किनारा बगर मिलेन
तिम्रो मेरो पीडा एउटै तर रहर मिलेन
एउटै मानो एउटै छानो हुदा पनि हिजो
दुबै हिड्ने सडक एउटै तर शहर मिलेन
प्रीय साथी !
सम्बोधन बिहिन सम्बोधन लिएर फेरि आज एउटा अधुरो र अपुरो अनि अकल्पनीय सम्बन्धको यथार्थ लिएर पत्र मार्फत तिमी सामु झुल्किने प्रयास गरेको छु, टुङिएको सम्बन्ध बोकेर पत्र मार्फत फेरि झुल्किदा तिमिलाइ खुब रिस उठ्दो होला तर यो नै अन्तिम पत्र सम्झेर माफी गरिदेउ ल ।
कहिलेकाही परिचीत र सम्बोधित सम्बन्धहरु सम्बोधन बिहिन हुनुपुग्दो रहेछ । थाहा छ मलाई अनि तिमिलाई, हिजो तिम्रो र मेरो बिचमा मनको सम्बन्ध हुँदै सरिरको सम्बन्धले कहिले नछुट्ने कसम खादै एकाकार भएका थियौ, अनि यो पनि थाहा छ हामी दुबैलाई हामी दुबैको स्पर्सबाट एउटा सन्तान को जन्म भएकोछ भनेर, जो आज सबै सम्बन्धहरु तोडेर सिर्फ उसैको सबन्धले मात्रै तिमिलाइ बोलाउने हक छ मलाइ त्यो सानेको आमा भनेर, अनि मेरो सिन्दुर को सम्बन्ध मेटे पनि सानेको आमा र सानेको बा भन्न बाट कसैले वा केहिले रोक्ने छैन हामीलाई, यो स्वतन्त्रता हामी दुबैमा सुरक्षित छ । होला म तिमिलाइ आफ्नो सिन्दुरको हक जताएर जिबनसाथी वा श्रीमती भनेर बोलाउन नसकौला, अनि तिमिले मलाई । तर हामी दुबै त्यस्ता अभागी रहेछौ आफ्नै सन्तानको नामले पुकार्न सक्छौ तर अग्निकुण्ड को फेरो लगाएर जोडेको सम्बन्धको उपमाले बोलाउन सक्दैनौ ।
प्रेमिहरुको प्रेमदिवस भनेर चिनिने यो प्रेम दिवसको दिनले मलाइ पनि खुब सताएको छ, हाम्रो अतीत फेरि एकपल्ट नराम्रो गरि मस्तिष्क भरी दोहोरिएको छ । आजको यो प्रेमिल पबित्र दिनमा कयौ आत्माहरु, प्रणय बन्धन मा बाधिदै होलान, कयौ आत्माहरु कहिलै नछुट्ने बाचा खादै होलान, अनि कयौ आत्माहरु नास्वर शरीर संग आफ्नो परमात्मा संग लिन भएर जीवन उत्सर्गको बाटोमा एक अर्कामा साटिदै होलान, तर म भने सकिएको टुंगिएको सम्बन्धको लागि वियोगान्त पत्र लेख्दैछु तिमिलाई, अब भन म तिम्रो अभागी प्रेमी हुँ वा असफल पति, जो अतीत लाई आज पनि उतिकै प्रेम गरिरहन्छ, हिजो आज र अनि अनन्त सम्म ।
हो माया, तिमी त सायद सोच्छौ होला अदालतको त्यो कानुनी एक सेतो कोरा कागजले टुक्र्याएको हाम्रो सम्बन्धलाई सधाको लागि सकियो, मासियो वा मर्यो भनेर ! तर त्यस्तो हैन माया, अदालतले छुटाएको त्यो सम्बन्ध हामी दुबैले बर्षौ सम्म संगै बाचेकाछौ, संगै हासेका छौ, अनि संगै रुएका छौ, कयौ दिन तातो घाम र महिनौ सम्मको झरिबादल बर्खा संगै खेपेका छौ घुम र घुम्टोको सम्बन्ध जस्तै, अझ यसरी भनौ नङ्ग र मासुको सम्बन्ध जस्तै गरेर, अनि त्यति छिटै म कसरी बिर्सौ तिमी संग तिम्रो सिउदोले साटेको मेरो सिन्दुरको नाता संग । हो माया यो समाजले र तिम्रो कानुनले चिनेको सम्बन्ध अदालतको एउटा घोषणाले एउटा कपिको पानामा एउटा कलमको निपले कोरेर हामी बिचको भौतिक दुरि त कोरि दियो, तर मनको भावानाको सम्बन्धको रेखा न कोर्न सक्छ नत मेटाउन नै सक्छ ।
सानेकी आमा एकपल्ट सोचत, तिमिले मलाइ कुन अवस्था बाट उठाएर प्रेम गरेकी थियौ ? अनि तिमि ब्राम्हाण एक बाहुन कि छोरी म एक जनजाती तामाङको छोरो, न हाम्रो जात मिल्थ्यो न धर्म, तिमी जन्मले हिन्दु म जन्मले बुद्धिस्ट, अनि जमिनको बसाइको हिसाबले पनि म कहाँ पुर्बको अनि कहाँ तिमी मध्यपश्चिम को, तर यति हुदाहुदै पनि तिमिले म संग प्रणय बन्धनमा बाधिएर तिम्रो गलामा मेरो नामको पोते झुन्ड्याउन कतिसम्म आफ्नो परिवार संग बिद्रोह र संघर्ष गरेर मलाइ आफ्नो बनाएकी थियौ ? के ती सम्बन्धहरु आज अदालतकै एउटा धर्को अक्षरले टुक्राटुक्रा पारेर हाम्रो सपना तहसनहस गर्छ भन्ने के सोचेकी थियौ र ? वा कुनैदिन सपना सम्म देख्यौ र? हेर माया यो जिबनत नास्वर हो राजा, एकदिन खरानी भएर यो ब्रह्माण्ड बाट बिलिन भएर जानुपर्छ सबैले तर प्रेम र त्यस्को अवसेस त सन्तान को रुपमा बंशहरु यो धर्ती रहेसम्म रहिरहन्छन पुस्तान्तरण हुँदै युगौयुग सम्म, त्यसैले तिमिले जुन भ्रम पालेकी छौ आजसम्म ती सबै झुटा हुन अनि मिथ्या हुन ।
तिमिलाई एउटा कुरा भन्छु है ल, आखिर कहाँ दोश थियोर ममा, वा तिम्रो सोचाइमा ? के त्यति छिटै तिमी भुल्न सक्छौ ? हिजोको हाम्रो संघर्षहरु ? जब हाम्रो बिहे भयो तब त्यो समयमा हामिले आधा पेट खाएर बिताएको रात होस वा पात्लेखेत बन्दकी राखेर सुख किन्न तिमिले मलाइ बिदेश जान कर गरेको पल अनि बिस्तारै फर्किदै गरेको हाम्रो सुख र मुहारको हासो ? के ती संघर्षका दिनहरु कमका थिए ? तिमिलाई मैले परदेशमा हुँदा पनि बारबार भनेकै थिए, अर्काको भुमिमा जेल पस्नु, मैले तिमिलाई पठाएको मोबाइलमा तिमिले भेटाएको अरु कुनै नौटंकी अपरिचित केटिको तस्बिर र मेरो तस्बिर एडिट गरिएका थिए, लेखिएका ती सबै मेसेजहरु सबै मेरो आइडी बाट अरुले नै गरेर मलाइ फसाएको थिए भनेर कयौंपटक भनेको थिए, आखिर त्यस्तो फसाइएको अवस्था बाट दुनियाँ संग पैसा चन्दा संकलन गरेर तिमिले नै होइन मलाई नेपाल झिकाएको पनि ? सोचत हामीले कस्ताकस्ता कठिन घडिहरु समयहरु बिताएको छौ भनेर ? अनि जब म नेपाल फर्किएर आए तब केहिदिन देखि त्यही नक्कली तस्बिर र अलिखित मेसेज कै निहुँ बनाएर हरेक रात झगडा गर्थ्यौ, केहिन केही बाहानामा म संग झगडा गर्दै तिमी बारबार माइत जान थाल्यौ अनि आफै भनत अब हाम्रो सम्बन्धको पहिरो कहाँबाट जान सुरु गर्यो भनेर ।
हो सानेकी आमा ! कयौ त्यस्ता सम्बन्ध हरु हुन्छन जुन सम्बन्धहरु अलिखित हुन्छन अनि लिखितमा टुगिंन्छन, आज त्यो म स्वयमले हाम्रो सम्बन्धबाट थाहा पाउदैछु, सायद तिमिले त बिर्सिसक्यौ होला आजैको दिन अरु सबै प्रणय दिवसको मिलन मनाइ रहदा हामी हाम्रो प्रणय दिवसको अन्तिम सम्बन्ध चितवन जिल्ला अदालतमा समाप्त गर्दैथियौ, आजैको दिन प्रेम दिवस मनाउन हरेक जोडि प्रेमीहरु ट्याक्सी, रिक्सा, बाइक, स्कुटर र साइकल धरिमा जोडि बनेर हिडिरहदा, त्यही अदालतको कठघाराको बहस कक्ष बाट अलगअलग भएर सँधैलाई छुटिएर आआफ्नो बाटो लाग्दै थियौ हामि । अदालत भित्र तिम्रो अगाडी घिटघिटाएको पल अनि अदालतको बाहिर गेटमा निस्किएर हिड्ने बेलामा सानेले मुटु फुट्ने गरि रुएर बाबा बाबा भनेर पछ्याउदा तिमिले नानिको हात सनासोले च्यापे झै च्यापेर राख्दा मेरो मुटु कति भक्कानिएर फुट्यो होला त्यो मलाई मात्रै थाहा छ । अदालतको के कुरा गर्नु सानेकी आमा, मुटु त त्यसै दिन फुटेको थियो जुन रात घरमा फेरि उहीँ फोटो र मेसेजको प्रसंग झिकेर झगडा गरेर नानी च्यापेर निस्कदा आधा त मरिसकेको थिए म, तिमिलाई थाहा छ तिमी निस्कदा टिभी घन्किरहेको थियो, हामी अब कहिले मिलन हुन नसक्ने गरेर त्यो घरको दैलोबाट तिमी निस्कदै गर्दा घन्किरहेको टिभी लाई त के थाहा तर उस्ले गित बजाएर मेरो दुखेको घाउमा नुनचुक छर्किने काम भने गितबाटै गरेको थियो, जुन गित बजिरहेको थियो ।
आधिरात थियो जुनेली बिछोड हुदाको रात
परदेशी तक्दिरले छुटायो तिम्रो मेरो साथ ।
सानेकी आमा ! आजको प्रेम दिवसको पत्रको अन्त्यमा, जिबनभर साथ तिमिले दिन सकेनौ वा मैले, कम्जोरी कहाँ थियो भेटिएन कतै दोशको छुरा, तैपनी जीवन रहेसम्म मैले जतिको माया गर्ने साथी पाउदैनौ माया, जोबन साटौ भन्ने त कयौ आउलान तर पिर साटौ भन्ने कोहि पाउने छैनौ, किनकी जिबनमा मैले जतिको तिमिलाई अरु कस्ले बुझेको होलार, त्यसैले मलाई थाहा छ, रिस र आबेगमा गरेको निर्णबाट तिमी पनि पक्का थाकेकी छौ र तिमी भित्र कयौ एक्लो हुनुको पिडाको ज्वारभाटा त छदैछ, त्यसमाथि सानेले घरीघरि बाबा खोइ भनेर सोद्धा मुटुमा गाठो पक्का पार्छौ तर आज एक कदम अगाडी बढेर म आफै भन्छु माया कानुनले सम्बन्ध टुङ्गिएको घोषणा गरे पनि मनको सम्बन्ध जतिसुकै टाढा भएपनी टुङ्गिदैन, सकिँदैन अनि मर्दैन यो मनको सम्बन्ध पनि अजिबको हुन्छ, जति पुरानो उति खिल बनेर बसिदिन्छ उल्टै बरु, त्यसैले अलिकति तिमी दुई कदम अगाडि सार दुई कदम अगाडि म सार्नेछु र साने लाई बाबा र आमा मद्धे एक बिनाको अभिभावक बिहिन हुन बाट जोगाउ सबै तिम्रो हातमा छ राजा सबै तिम्रो हातमा, अनि अन्त्यमा तिमी जतिबेला चाहान्छौ दिन रात तिम्रो लागि यो घरको दैलो खुला रहनेछ तिमिलाई स्वागत गर्न लाई । हस्त अहिले लाई कलम बन्द गर्छु, नानी र आफ्नो ख्याल राख्नु समयमा खानु, बिदा ।
उहीँ सानेको बा ।
रचना-अर्पण योन्जन (शिरिष)
मिति- १४ फेर्बुवरी २२
No comments:
Post a Comment