रेमिट्यान्स घट्यो भनेर
आँसु चुहाउने सरकार !
मेरो मृत्युको मूल्य कति छ ?
कफनमा बाधिएर
हरेक दिन मेरो लाश
आफ्नै मृत्युको मलामी बनेर
बाकसमा फर्किदै गर्दा
एकपल्ट भनिदेउ सरकार !
मेरो लाशको मूल्य कतिछ ?
बिन्ती छ सरकार !
बरु भनिदे मलाई
अनि तोकिदे मलाई
मेरो मृत्युको मुल्य
यति हो भनेर !
तिमिलाई मेरो हरेक मृत्युको
बरु ट्याक्स बुझाउला
म बाधिने आफ्नै कफन
बेचेर भएपनी,
तिमिलाई रेमिट्यान्स पठाउँला
एक पल्ट भनिदेउ सरकार !
मेरो लाशको मूल्य कतिछ ।
बरु म !
मेरो घरकालाई भनिदिउँला
एकदिन चुलोमा आगो नबाल्नु
एक दिन भोको पेट बस्दैमा मरिदैन
एक दिन सरकारको नाउँमा व्रत बस
बरु एक छाक खाना नखानु
एकजोर नयाँ लुगा नफेर्नु
लगाएको शरीरको लुगा फाटेर
तिम्रो लाज नछोपिए केही हुन्न
किनकी ! म चिन्तित छु
सरकारको लाज देखिनु भएन
नत्र रेमिट्यान्स घट्यो भनेर
उ रुनेछ, बहुलाउनेछ,चिच्याउनेछ,
त्यसैले मैले र मेरो परिवारले
तिम्रो पेट भर्न यति गरेपछि
एकपल्ट भनिदेउ सरकार !
मेरो पसिनाको मूल्य कतिछ ।
हरेक साल, हरेक महिना
हरेक दिन, हरेक घडी
बरु म बेचिन तयार छु
अरबको तातो मरुभुमिमा
बरु म जोतिन,
पिटिन मर्न तयार छु
तर बिन्ती छ सरकार
बिकासको नाउँमा
मेरो देश नबेच
मेरो स्वभिमान नबेच
गर्वले जिउने मेरो छाती
मेरो शिरको अभिमान नबेच
मेरो रास्ट्रीयता नबेच
बरु म मर्न तयार छु
त्यसैले एक पल्ट भनिदेउ सरकार !
मेरो रगतको मूल्य कतिछ ।
रेमिट्यान्स नपठाएको मा
जति तिमिलाइ चिन्ता छ नि !?
त्यो भन्दा बेसि, मलाइ चिन्ता छ
फेरि मेरो मृत्यु जन्मिन्छ कि जन्मिदैन भनेर ।
किनकी ! मलाई थाहाछ
हरेक साँझ डुब्नै लागेको घाम
बरु, उदाउछ भोलि बिहान
तर मेरो मृत्यु उदाइदैन
अर्को नयाँ लास लिएर ।
र, भन्दैन त्यो लासले
आफ्नो सखी र सन्तान संग
म आइपुगे नि भनेर,
तर तिमिलाई त सरकार
मेरो आर्यघाटमा जल्दै गरेको लासले पोल्दैन
युवा खाडिमा बेचिनुको पिरले पिरोल्दैन
हरेक दिन बिमानस्थलमा
आगमन हुने लासको गणितले दुख्दैन
त्यसैले त तिमिलाइ चिन्ता छ
मैले रेमिट्यान्स पठाउन नसकेको मा
त्यसैले अब मैले निस्चय गरिसके
मेरो मृत्युको कफन बेचेर
तिमिलाई हरेक महिना रेमिट्यान्स पठाउनेछु
तर एकपटक भनिदेउत सरकार
मेरो मृत्युको मूल्य कति छ ।???
रचना- अर्पण योन्जन (शिरिष)
मिति- ५, फागुन २०७८
तदनुसार- १६, फेर्बुवरी २२
No comments:
Post a Comment