तिमीले ओड्ने आकाश
र मैले बिछ्याउने धर्तिमा
के अन्तर छर ?
थुक्दै, सराप्दै हिँड्छौ !?
तिमीलाई बिझाउने त्यस्तो
आखिर ! केछ मेरो जातमा ?।।
धर्म एउटै कर्म एउटै, देबिदेवता एउटै
तिम्ले फेर्ने मैले फेर्ने श्वास पनि एउटै
तिम्रो सेतो हुन्न, मेरो कालो हुन्न
हाम्रो रगत पनि एउटै !
तिम्लाई छुने मलाई छुने हावा
अनी, हाम्रो जगत पनि एउटै
फेरी पनि किन ?
तर्की हिड्छौ मलाई देख्दा
आखिर ! केछ मेरो जातमा ?।।
कुवा, धारा, पँधेरा यही हातले बनायो
मन्दिर, मस्जिद, चर्च र गुम्बा
सुन, चाँदी, हिरा मोती
भाँडा-बर्तन लाउने लुगा
मेरो जातले बनायो
तैपनी मलाई देख्दा दुत्कार्दै हँड्छौ
आखिर ! केछ मेरो जातमा ?।।
मलाई मेरो देश फेर्नु छैन
मलाई मेरो भेष फेर्नु छैन
मलाई मेरो माटो फेर्नु छैन
मलाई तिम्रो मेरो बाटो फेर्नु छैन
मलाई तिम्ले खाने मैले खाने आँटो फेर्नु छैन
मलाई मानबताको हात फेर्नु छैन
त्यसैले म मेरो जात किन फेरुँ ?
आखिर ! केछ मेरो जातमा ?।।
14, August 2022
No comments:
Post a Comment