कविता ३२ स्रावण २०६८
प्यारी-
न आयो तिम्रो खबर चिट्ठी न आयौ पर्देशी
सम्झना पनि भुल्यौकि खसम घर बाट गएसी ।
झिली र मिली शहरको घर त्यसैमा भुल्यौ कि
अप्सरा नाच्ने रङिन साँझ त्यसैमा खुल्यौ कि ।
खसम-
लेखेर चिट्ठी पठाको थिए खै कहाँ रोकियो
उडेर आउँ त म पंक्षि होइन डाँडै ले छेकियो ।
के हुन्छ प्यारा झिली र मिली शहर को घरमा
साँझ र बिहान गर्दै छु दु:ख अर्काको भर मा ।
प्यारी-
भुल्यौ कि खसम खरको छानो साउन चुइएको
खाइ लाग्दो ज्यान भोकले पेट शरीर नुइएको ।
चोलिया फाट्यो फरिया फाट्यो मन पनि फाटियो
गएको हिउँद आसैमा बित्यो बर्ख नि काटियो ।
खसम-
काँ भुल्न सक्छु पियारी तिम्लाई मुहार मलिनो
न भन त्यस्तो अमिलो चुक मन हुन्छ अलिनो ।
फेरुँला छाना भरुँला माना भोका को शरीर
म आउंला फर्की सपना साँची जंघार तरेर ।
प्यारी-
म कती सिलाउँ फाटेको मन आउ राजा फर्केर
तकिया मुनी तस्बिर हेरी मन रुन्छ धर्केर ।
चिस्यानी रात गुनगुनाउँ कती तस्बिर बोल्दैन
कल्पना बिच मनको रहर मुख ले खोदैन ।
खसम-
पर्देसी जिबन काँ हुन्छ सुख सिलाउ त्यो मन
पसिना पोखी कमाइ ल्याउँला पर्देशको त्यो धन ।
सपना बिच झस्केर उट्छु तड्पिन्छु मै पनि
सुस्केरा हाली निदाउन खोज्छु हुंदैन तै पनि ।
प्यारी-
भन्छौ नि राजा मन लाई बाँधी त्यो आँशु लुकाइ
कतिन्जेल बसुँ दुखेको मन पिर ब्यथा लुकाइ ।
म पनि उस्तै हजुर लाई उस्तै केले हो छेके को
मर्नु र बाँच्नु भोलिको दिन कस्ले छ देखे को ।
खसम-
मन मा गाँठो पारेर सानु न भन त्यसरी
साहुको रिण त्यो गैरी खेतको मै तिरुँ कसरी ।
दुई हिउँद कुर गरेर दु:ख बसन्त डाकेर
बोकेर खुशी म फर्की आउँला देउता लाई भाकेर ।
प्यारी-
मुनाको मदन हजुर ले हुनु मै हुँला पियारी
हजुरको सती भएर जिउँला बालबच्चा स्याहारी ।
गरुँला आशा फर्केला गुँड बिचरी त्यो चरी
मनको प्यास मेटुला साँझ हेरुँला निहारी ।
कान्छा भाई
तरहरा-२ सुनसरी
Saturday, August 27, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment